नागपंचमीमा को महत्व | नागपंचमीमा कसरी पूजा गर्ने? | Nagpanchami in Nepali Cultutre
चक्रपाणि गौतम
सनातन हिन्दु संस्कृति उत्सवप्रिय संस्कृति हो , विभिन्न समयमा आउने उत्सव व्रत आदिले सनातन धर्मावलम्बीहरु सधै खुशी हुने गर्दछन् । यस्तै उत्सव मध्ये नागपंचमी पनि विशेष प्रकारको उत्सव हो । यो उत्सव विशेषतः नागप्रति श्रद्धा समर्पण गर्ने पर्व हो । पुराण ईतिहास अनुसार नागको उत्पत्ति महर्षी कश्यप र उनकी पत्नी कद्रूबाट भएको मानिन्छ । पुराणहरुमा नाग सम्बन्धी विभिन्न कथाहरु वर्णन गरिएको पाईन्छ । प्राच्य साहित्य आदिमा पनि नागका सम्बन्धमा अनेक धारणा र विचारहरु व्याप्त छन । भगवान नारायणको शैयाको शोभाका रुपमा रहेका नाग शिव गणेश आदि देवताहरुका आभूषणका रुपमा पनि सम्मानित छन । भारतवर्षका हरेक गाँउ शहर सवै स्थानमा नागको समानरुपले सम्मान गर्ने परम्परा रहि आएको छ । योग अभ्यास आदिका माध्यमले सिद्धि प्राप्त गर्न जागृत गरिने कुण्डलिनी शक्तिलाई पनि सर्पीणी भनिन्छ । सूर्यरथलाई प्रत्येक महिना नागहरुले रथवहन गर्ने कुरा पुराणहरुमा उल्लेख गरिएको छ ।
कसरी सुरु भयो नागपूजा
नागपंचमीको कथा र कथाश्रवणफल पनि रोचक र पुण्यप्रद मानिन्छ । यस कथाका वक्ता सुमन्त मुनी हुन ,समुन्द्र मन्थन गर्दा निस्केको उच्चैश्रवा घोडाको रंङ्ग कस्तो छ भन्ने विषयमा नागमाता कद्रू र विमाता विनताबीच विवाद पर्यो । कद्रूले सेतो घोडालाई कालो भन्दै सो घोडा कालो सावित गर्नकालागि आफ्ना सन्तानहरुलाई अति शूक्ष्म रुप धारण गरेर घोडाको शरिरमा पस्न आदेश दिईन तर नागहरुले आमाको आज्ञाप्रति असमर्थता जनाए । नागहरुले आफ्नो आज्ञापालन नगरेपछि क्रोधयुक्त हुदै जनमेजयको यज्ञमा तिमीहरु मारिने छौ भनेर कद्रूले नागहरुलाई श्राप दिईन । मातृश्रापले भयभित नागहरु ब्रह्माको शरणमा गए । शरणागत नागहरुलाई देखेर ब्रह्माजीले भविष्यमा यायावरवंशमा जरत्कारु नामका ऋषि तिमीहरुका बहिनेज्वाई हुनेछन र उनका छोरा आस्तिकले तिमीहरुको कूलको रक्षा गर्नेछन भनेर श्रावण शुक्ल पंचमी तिथिका दिन अभयदान दिनु भयो र कालान्तरमा यही तिथिका दिन आस्तिक मुनिले पनि नागहरुको रक्षा गर्नु भयो यस कारण श्रावण शुक्ल पंचमी तिथिका दिन नागको पूजा गर्ने परम्परा प्रारम्भ भयो ।
कहाँ कहाँ हुन्छ नागपूजा
नाग पूजनको सर्वव्यापकताका सम्बन्धमा अध्ययन गर्ने हो भनें संसारका विकशित अल्पविकशित वा विकासशिल सबै देशका नागरिकहरु नागको पूजा गर्ने गर्दछन , अमेरीकाका आदिवासीलगायत सबै समुदायमा नागप्रति श्रद्धा गर्ने परम्परा रहि आएको छ भनें जापानका राजवंश आफूलाई नागवंशी मान्दछन । वैदेशिक सभ्यताका आदिस्रोत युनान ,ईजिप्ट आदि देशहरुका धार्मिक स्थलहरुमा आज पनि सर्प पाल्ने प्रचलन रही आएको छ । चीनमा आज पनि प्राचीन नागमन्दिरहरु देख्न सकिन्छन । अष्ट्रेलिया ,नर्वे जस्ता देशहरुमा पनि केही समय पहिलेसम्म नागपूजा गर्ने चलन थियो । भारत नेपाल भुटान म्यान्मार जस्ता देशहरुमा अहिले पनि सर्पपूजा हुदै
आएको छ । भारतमा शासन गर्न आएका सिकन्दर महान आफूलाई नागवंशी मान्दथे यसर्थ उनी भारत प्रवेश गर्नासाथ सर्वप्रथम सर्प मार्न रोक लगाएका थिए भन्ने ईतिहास पाइन्छ । भारतका हरेक मन्दिरमा कुनै न कुनै प्रकारले नागका मूर्तिहरु स्थापना गरिएका हुन्छन । प्राचीन कालमा ज्ञानको खानी भनेर चिनिने प्रसिद्ध स्थल कश्मिरलाई नागस्थलका रुपमा मानिन्छ । अनन्तनाग भन्ने स्थान सो भूमिलाई नागभूमि थियो भन्ने कुराको ज्वलन्त प्रमाण मान्न सकिन्छ । नेपालमा पनि नागपूजाको प्राचीन परम्परा रहेको पाईन्छ र विभिन्न स्थानहरुलाई नागका लागि समर्पण गरिएको प्रत्यक्ष प्रमाणहरु नागढुंगा , नागपोखरी, नागदह जस्ता नामाकरण गरिएका स्थानहरुले पुष्टि गर्दछन । पूर्वीय सभ्यतामा नागलाई लोकदेवताका रुपमा स्थापना र पूजा गर्ने गरिन्छ ।
वेद पुराणमा नागको महत्व
पुराण ग्रन्थ र वैदिक ऋचाहरुमा पनि नागको पर्याप्त वर्णन पाईन्छ । देवी भागवतमा उल्लेख भए अनुसार पराजय र विषभयबाट बच्नका लागि नवनागको स्मरण र प्रार्थना गर्नु पर्दछ ।
अनन्तं वाशुकीं शेषं पद्मनाभं च कम्वलम् ।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।
एतानि नव नामानि नागानां च महात्मनां
शायंकाले पठेन्नित्यं प्रातकाले विशेषतः।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवेत ।। देवीभागवत ।
यजुर्वेदमा नमोस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ये अन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः भनेर उल्लेख पाईन्छ । समुद्र मन्थनका समयमा मन्दराचल पर्वतलाई मदानी वनाउदा नागलाई नेतीका रुपमा प्रयोग गरिएको कुरा पुराणहरुमा उल्लेख पाईन्छ । गृहनिर्माण आदि कर्ममा नागको मुखपुच्छज्ञान गरेर मात्र घर वनाउन आरम्भ गर्ने नियम ज्योतिष र वास्तु शास्त्रमा वर्णन पाईन्छ ।
नागपूजन र मानव सभ्यता
केही आधुनिक गवेशकहरु नागपूजालाई प्राचीनकालका कविला , द्राविण र वनवासीहरुको परम्परा मान्दछन परन्तु पुराण ईतिहास र नागपूजनको वैश्विक मान्यतालाई गहन अध्ययन गर्ने हो भनें यो परम्परा प्राचीन सनातन परम्परा नै हो । भविष्य पुराणमा नागहरुका अनेक जाति प्रजातिका सम्बन्धमा अनेक प्रकारले वर्णन गरएको छ । यसकारण पनि भन्न सकिन्छ कि नागपूजनको परम्परा अति प्राचीन र सभ्य समाजको परम्परा हो । हिन्दु सभ्यता धर्मप्राण सभ्यता हो र यो सभ्यताको मूल “समं सर्वेषु भूतेषुु तिष्ठन्तं परमेश्वरम् ”। अर्थात ईश्वर सबै प्राणीमा समान रुपले रहेको हुन्छ र सवै प्राणी पूज्य हुन्छन भन्ने नै हो ।
सर्प संरक्षण हाम्रो जिम्मेवारी
सामान्य मानवीय स्वाभाव अनुसार हामी सर्पलाई देख्ने वित्तिकै आवेशमा आउछौ , किनकि हाम्रो मान्यता सर्पले टोक्दछ भन्ने रहि आएको छ । यसकारण हामी सर्पलाई देख्नासाथ उसलाई मार्न उद्यत हुन्छौं यो नितान्त गलत धरणा हो । संसारमा भएका सबै सर्पका प्रजातिहरु मध्ये अति कम किसिमका सर्पहरुमा मात्र विष हुुन्छ अधिकांश सर्प विषरहित हुन्छन । सर्पलाई देख्नासाथ हामीमा जाग्ने दुर्भावना नै सर्पमा सृजन हुने दुर्भावनाको कारण हो यसैले लोकोक्ति छ “सर्पले नटेकि टोक्दैन” । नाग हाम्रो कृषि र वन सम्पदामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राणी भएकाले पनि यसको पूजन र संरक्षण आवश्यक छ भन्ने कुरामा दुईमत नै छैन ।
नागपंचमीमा कसरी पूजा गर्ने
नागपंचमीका दिन दिन देशाचार अनुसार भिन्न भिन्न विधिले नाग पूजन गर्ने परम्परा रहि आएको छ , यस दिन व्रतको विषेशता भन्दा पनि नागपूजनलाई उत्सवका रुपमा विशेष रुपले स्वीकार गरिएको छ । ग्राम्य परिवेशमा नागथानहरु स्थापना गरेर त्यस ठाँउमा दुध र मिठाई जस्ता परिकार लगेर नागदेवताका लागि राखिदिने नियम छ । घरको मूल ढोकामा गाईको गोवरले नागको आकृति वनाई दूवो गाईको दुध आदिले नाग पूजा गर्ने गरिन्छ । पछिल्लो समय कागजमा विभिन्न प्रकारका नागका मुद्राहरु मुद्रण गरेर ब्राह्मणहरुले घरघरमा लगि मूल ढोकामा नाग टाँसेर नागका नाम उच्चारण गर्दै स्वस्तिवाचन पूर्वक घरमा आगो , विद्युत सर्प वातवायुको प्रकोप नहोस भनि मन्त्रोच्चार गर्ने परम्परा छ । मन्त्रपूर्वक नागपूजा गर्दा घरमा कुनै प्रकारका आपदाहरु नआउने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।