Jyotish jyotish in Kathamandu Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

यो वर्ष असोज २ बाट अधिक मास शुरु| गर्न हुने र नहुने कुराहरु| Adhik Mas 2077 Asoj Nepali

असोज २ बाट महिनाभर अधिक मास गर्न हुने र नहुने कुराहरु

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

ज्योतिष शास्त्रअनुसार २०७७ साल असोज २ गतेबाट अधिकमास सुरु हुँदैछ । यसलाई मलमास वा पुरुषोत्तम मास पनि भनिन्छ । अधिक मासको निर्णय सूर्य सड्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सड्क्रान्न्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ । ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ती पर्दैन त्यसलाई अधिकमास भनिन्छ ।
त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य सक्रान्ती परेमा त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । बिसं २०७७ मा असोजमा मलमास परेकाले दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका छन । नागपञ्चमी, रक्षाबन्धन, कुशे औंसी एवं सोह्रश्राद्ध अघि सरेका छन । यो वर्ष आश्विन पित्री पक्ष भदौं १७ बाट शुरु हुँदैछ । सोह्रश्राद्ध शुरु भएर प्रतिपदा श्राद्ध यहि दिन परेको छ ।
यो वर्ष कार्तिक १ गते नवरात्र आरम्भ घटस्थापना परेको छ । विजयादशमी कार्तीक १० गते सोमबार हुनेछ। यस्तै तिहारको लक्ष्मीपूजा कात्तिक २९ गते शनिबार परेको छ । भाइटीका मंसिर १ गते सोमबार परेको छ । तराईमा विशेष मनाईने महत्वपूर्ण पर्व छठ मंसिर ५ गते परेको छ ।

पौराणिक मान्यता
पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा छ । कथाअनुसार स्वामी अर्थात मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएर मल मास भगवान विष्णुकहाँ पुग्नुभयो र आफ्नो दुःख बिसाउनुभयो ।
भक्तवत्सल भगवान विष्णुले मलमास लाई गोलोक लिएर जानुभयो । गोलोकमा भगवान कृष्ण विराजमान हुनुहुन्थ्यो । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उहाँ लाई सान्त्वना दिँदै भन्नुभायो– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’ यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिनुभयो । अधिकमासलाई वर्जित भन्दा पनि अनुशासनको महिना मानिनुपर्दछ । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ । यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान कृष्ण अर्थात विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि निस्काम भावले भक्तीपूर्वक गरिने कार्य बाट भगवान प्रशन्न हुनुहुनेछ ।
अधिकमास मा गर्न नहुने कार्यहरु
– नयाँ घर सर्न, पित्री कायर्, बिवाह, ब्रतवन्ध लगायतका कर्म ।
–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।
–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।
–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भन्ने मान्यता छ । –गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन ठूलो पुण्य आर्जन हुनेछ ।
––नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ भन्ने मान्यता छ।
–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु कम हुन्छ ।
यो दुर्लभ महिनामा जसले निस्काम भावले विना स्वार्थ स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ । पुरुषोत्तम महात्म्य लगाउने पुराण श्रवण गर्नाले मोक्ष प्राप्त हुने शास्त्रिय मान्यता छ ।