ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असार २९ गते आइतबार ई.सं. २०२५ जुलार्इ १३ नेपाल सम्बत ११४५ दिल्लागा तृतिया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण तृतिया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४३ मिनेट देखि १० बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भानु जयन्ती पनि रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
उच्चपदस्थ वा महत्त्वपूर्ण व्यक्तिहरूसित नयाँ सम्बन्ध विकसित हुनाले लाभान्वित बन्न सक्नुहुन्छ । कुनै प्रशासनिक काम अड्किएका छन् भने हल हुनेछन् । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । उच्चपदस्थ वा महत्त्वपूर्ण व्यक्तिहरूसित नयाँ सम्बन्ध विकसित हुनाले लाभान्वित बन्न सक्नुहुन्छ । कुनै प्रशासनिक काम अड्किएका छन् भने हल हुनेछन् । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ ।